काठमाडौं – अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । ३४ वर्षीय साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै साहजादलाई अनुबन्ध गरिएको जनाएको छ । साहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध थिए । तर, कोभिड –१९ को कारण ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् ।
‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आत्तुर छु । नेपालका प्रशंसकहरू विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ सम्झौतापछि साहजादले भनेका छन् ।
‘गत वर्ष जहा टुंगिएको थियो, त्यहीबाट साहजादलाई निरन्तरता दिन पाउदा हामी निकै उत्साहित छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवनका अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले भनिन् ।
चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।