काठमाडौं– हाँस्य कलाकार, अभिनेत्री, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले सोमबार ४६औँ जन्मदिन मनाएकी छन् । उनले केही सीमित आफन्त र साथीबीच जन्मदिन मनाउने योजना बनाइरहँदा रेडियो अडियोले जन्मदिन मनाउने कार्यक्रम आयोजना ग¥यो । दीपाको जन्मदिन मनाउने कार्यक्रममा कलाकारहरू पुगेका थिए ।
दीपाको जन्मदिनमा उनका सबैभन्दा नजिकका साथी दीपकराज गिरीले कविता नै लेखेका थिए । उनले कवितामा दीपा र आफूबीच ३० वर्षअघिको भेटको प्रसंगसँगै रेडियो नेपालमा गरेको नाटक, रेडियो कार्यक्रम ‘धनियाँ र रामविलास’, टेलिशृंखला ‘तितोसत्य’देखि चलचित्र निर्माण तथा निर्देशनसम्मको प्रसंगको व्याख्या गरे । कवितामार्फत दिपकले दीपालाई ‘भगवानले सफलतामा साथ दिन पठाएको साथी’को संज्ञा दिएका छन् । कवितामा उनले लेखेका छन्, ‘मैले ईश्वरसँग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ, तर ईश्वरले आर्शिवादस्वरूप कतिबेला उनीलाई मेरो साथी बनाएर पठाएछन्, पत्तै भएन ।’
दिपकले दीपाको प्रशंसामा त्यतिमात्र शब्द खर्चेका छैनन्, उनी लेख्छन्, ‘उनी एउटा यस्तो साथी, जो अरुको खुसीका लागि आफ्नो खुशी त्यागिदिन्छिन्, जो अरुको सपना पूरा गर्न, आफ्ना सारा सपनाहरूलाई पैतलामा कुल्चिन सक्छिन् ।’ त्यस्तै उनले दीपालाई ‘मुख अल्ली छुच्चो, तर, मन साह्रै कमलो’ भएको भनेका छन् । दीपकको कविता सुनेर दीपा पनि भावुक बनेकी थिइन् ।
दीपाले आफूले दीपकको कवितामा कुनै प्रतिक्रिया नदिने बरु रुने बताइन् । दीपाले आफू ४६ वर्षमा प्रवेश गरेको जानकारी दिँदै भनिन्, ‘जन्मिने वित्तिकै बच्चा रुन्छ । यसैले, त हामी कतिबेला रुन्छौँ, कतिबेला हाँस्छौं । कलाकारहरूलाई ताली र गाली दुवै चाहिन्छ । मैले यो क्षेत्रमा प्रवेश गरेपछि धेरै साथीहरू पाएकी छु र अगाडि बढेकी छु ।’
दीपकसँग ‘रामविलास र धनियाँ’ कार्यक्रममार्फत चर्चामा आएकी दीपाले यसपछि ‘तितो सत्य’ हाँस्य सिरियलमा काम गरिन् । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक कमाइ गर्ने ३ चलचित्र ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ कि निर्देशक पनि दीपाश्री नै हुन् । दिपक र दीपाको सहकार्य ३० वर्षभन्दा लामो छ । दीपाको जन्म ७ भदौ ०३२ मा विराटनगरमा भएको थियो । हालसम्म उनी अविवाहित छिन् ।