काठमाडौं– नेपालको सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको पनि प्रवेश भएको छ ।
गत वर्ष नै मौखिक सहमति भए पनि आइतबार मात्र निर्माण टिमले उनीसँग औपचारिक रूपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।
यो फिल्ममा अभिनेताद्वय सौगात मल्ल र अनमोल केसी पनि अनुबन्ध भइसकेका छन् । अब पुष्पले पहिलो पटक उनीहरूसँग एकसाथ स्क्रिन शेयर गर्नेछन् । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहनेछ । केही दिनमा निर्माण टिमले अभिनेता अनुप विक्रम शाहीसँग पनि कागजी सम्झौता गर्दैछ । यसरी हेर्दा फिल्ममा कलाकारको लाइनअप निकै बलियो हुने देखिन्छ ।
आउँदो पौषको तेस्रो सातादेखि क्यानाडा, युरोप र नेपालमा छायांकन हुने फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहने छिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
सिरिजको रूपमा निर्माण हुने ‘एक्स ९’ मा भिलेनको भूमिकाका लागि बलिउड स्टारलाई अभिनय गराउने योजनामा समेत निर्देशक भट्ट रहेका छन् । सबैभन्दा पहिला उनको रोजाइमा अभिनेता सुनिल सेट्टी थिए । तर, उनलाई फिल्ममा खेलाउन महँगो पर्ने भएपछि अर्का अभिनेता सोनु सूदलाई अफर गरिएको बताइएको छ । फिल्मको लागत ५ करोड छुने अनुमान गरिएको छ ।