काठमाडौं– बिहानैदेखि बन्दुक पड्केको आवाज आइरहेको थियो । मानिसहरू हतासमा भाग्नका लागि तँछाडमछाड गरिरहेका, अनुहारमा त्रासका धर्साहरू सबैका अनुहारमा प्रष्ट देख्न सकिने । यो दृश्य हो, अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गर्दाको । १५ अगस्टको दिन तालिबानले यसैगरी राजधानी कब्जा गर्दाको एक प्रत्यक्षदर्शी थिए ओखलढुंगाको मोलुङ गाउँपालिकाका भीममणि रार्ई ।
विगत ६ वर्षदेखि अफगानिस्तानमा कार्यरत रार्ईले त्यो दिन बिहानैदेखि काबुलको अवस्था अरु दिनभन्दा फरक रहेको बताएका छन् । कमान्डरले त्यो दिन अरुभन्दा उच्च सतर्कताका साथ रहन भनिरहेका थिए । बाहिर मानिसको भागदौड भइरहेको थियो । अवस्था भयाभह हुँदै गएको देखिन्थ्यो । ‘तालिबानले ७२ घन्टामा देश छाड्न भनिरहेकाले मानिसको मनमा ज्यान जोगाउने कुरा मात्रै बारम्बार आउँदो रहेछ,’ राईले आफ्नो अनुभव सुनाउँदै भने ।
आतंककारी भनिएको समूहले देश नै कब्जा गरेको अवस्थामा सबैमा त्रास उत्पन्न हुने नै भयो । यस्तोमा ज्यान जोगाउने सबैको ध्याउन्न हुने नै भयो । यस्तो कहालीलाग्दो अवस्थामा मानिसमा त्रास उत्पन्न हुनु अस्वभाविक नभएको भन्दै पूर्णरूपमा तयारीमा अवस्थामा रहन भनिएबमोजिम तयारी अवस्थामा नै रहेको राईले अनुभव सुनाए । ‘अर्काको देशमा त्यो पनि दिनदिनै लडाइँ भइराख्ने देशमा विद्रोहीले सबैतिर कब्जा गरेको सुन्दा कसको पो मन ढुक्क हुन्छ होला र ?’ उनले प्रश्नको शैलीमा बताए । आफू अमेरिकी दूतावासमा कार्यरत रहेकाले भागिरहेका ती मानिसहरूको कहालीलाग्दो आवाज सुन्न नसके पनि हतासका साथ दौडिरहेको देख्दा त्यहाँको अवस्था भयाभह भएको प्रष्ट महसुस गर्न सकिने अनुभव छ, रार्ईको । ६ वर्षको अवधिमा यति चाँडै तालिबानले सत्ता कब्जा गर्न सक्ला भन्ने आफूलाई कहिलै पनि नलागेको उनले सुनाए । अवस्था भयाभह र त्रासपूर्ण भए पनि तालिबानले अफगानिस्तानलाई शान्तिपूर्ण रूपमा नै कब्जा गर्न सफल भएको राईको अनुभव छ ।
तालिबानले राजधानीभन्दा बाहिरका प्रान्तहरू कब्जामा लिने र पुनः सरकारले फिर्ता गर्ने क्रम जारी रहे पनि कुनै रक्तपातबिना देशमा विद्रोहीको पक्षमा जाला र यति छिट्टै रोजगारी गुमाउनुपर्ला भन्ने आफूले कुनै पनि दिन नसोचेका रार्ई अफगानिस्तान पुगेको ५ दिनमै नेपाल फर्किनु पर्यो, त्यो पनि कतारको दोहा, कुवेत हुँदै मनभरि त्रासको भारी बोकेर । उनी बिदा सकेर ९ अगस्टमा मात्रै अफगानिस्तान पुगेका थिए । डर र त्रासमा रहेको भए पनि तालिबानले विदेशीलाई देश छाड्नका लागि समय उपलब्ध गराएको उनले सुनाए । यो अवस्था आउनुमा उनीहरूमा आएको परिवर्तन हुन सक्ने उनको अनुमान छ ।
अफगानिस्तानमा बम–बारुद पड्कनु, झडप हुनु र मानिसको मृत्यु हुनु सामान्य हो । दैनिक २५–३० जनाको मृत्यु भएको सुन्ने गरेको भए पनि कुनै रक्तपातबिना नै सत्ता कब्जा होला भन्ने कसैले पनि अनुमान नगरेको उनले सुनाए । लामो समयदेखि अफगानस्तामा तालिबानी विद्रोही र सरकारबीच दैनिकजसो झडप भई नै रहेको हुन्थ्यो । ठूला–ठूला आवाजमा बम पड्कनु त्यहाँको दैनिकीजस्तै बनिरेको हुन्थ्यो । कहिले कार बम, कहिले आत्मघाती, कुनै नै कुनै रूपमा त्यहाँ बम नपड्केको दिन सायदै हुन्थ्यो होला । जापानका मानिसहरू जसरी भूकम्पमा दैनिकी चलाउँछन्, त्यसैगरी अफगानिस्तानमा पनि बम बारुदमा जीवन चलाउनु त्यहाँका नागरिकको दिनचर्या कै रूपमा रहने गर्दछ । तर, तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दा भने यस्तो कुनै पनि दृश्य नदेखिएको रार्ईको अनुभव छ । ‘विदेशीलाई देश छोड्न समय दिइयो । शान्तिपूर्ण रूपमा नै सत्ता कब्जा भयो र कतै पनि त्यस्तै कुनै रक्तपातको कुरा सुनिएन,’ उनले भने ।
कुनै दिन पनि ढुक्कले बस्न नपाइने अफगानिस्तानमा तालिबानले राजधानी काबुल कब्जा गर्दाको अवस्थामा ढुकढुकीहरू बढ्नु स्वाभाविक नै थियो । त्यहाँ बम बारुदको आवाज सुनिनु सामान्य भएको र त्यसैमा जीवनयापन गर्नु अभ्यस्त भइसकेका नागरिक र विदेशीहरू सधैँ उच्च सर्तकतामा बस्छन् । कतिखेर मरिने हो भन्ने बारेमा कसैलाई पनि जानकारी हुँदैन । रोजगारी गुमाउनुको पीडासँगै ज्यान जोगाउनुको खुसी पनि छ, राईसँग । तालिबानले कब्जा गरेपछि सोचेजस्तो भयाभह नभए पनि सबैमा एक किसिमको त्रास भने देखिएको उनले सुनाए । बन्दुकका आवाजहरू बिहानदेखि नै सुनिएको र सबैको अनुहारमा त्रासका बादलहरू मडारिएको प्रष्ट देखिन्थ्यो ।