काठमाडौं– अभिनेता नवल खड्काको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘काँडेतार’मा नायक गौरव पहाडी अनुबन्धित भएका छन् । राष्ट्रियता र देशभक्ति थिममा निर्माण हुन लागेको फिल्ममा गौरव औपचारिक रुरूमा अनुबन्धित भएका हुन् । मंगलबार फिल्म निर्माण टिम र गौरवबीच कागजी सम्झौतामा हस्ताक्षर भएको छ ।
निर्देशक खड्काले भारत र नेपालको सिमानामा काँडेतार लगाउनुपर्ने आवाज उठाउँदै आएका छन् । उनले सोही अभियानलाई बल पुग्ने गरी ‘काँडेतार’ नाममा फिल्म निर्माण गर्ने तयारी गरेका हुन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि छायांकनमा निस्कने तयारीमा रहेको फिल्मलाई नवलले शंकर कार्कीसँग मिलेर निर्देशन गर्दैछन् । फिल्ममा उनी स्वयंको अभिनय र निर्माण रहनेछ ।
गत महिना फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकेका गौरवले राष्ट्रियताको विषयमा निर्माण हुन लागेको फिल्ममा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । फिल्ममा उनले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्ने जानकारी प्राप्त छ ।
फिल्मको बारेमा निर्देशक खड्काले भने, ‘नेपाल–भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय फिल्मले उठाउनेछ । यसले माटो र मान्छेको मात्र संरक्षण मात्र गर्दैन, असल छिमेकीसँगको सद्भावलाई पनि कायम राख्छ भन्ने फिल्मको भाव हो । फिल्मको विषयवस्तुले राष्ट्रलाई पनि झकझकाउने छ ।’ उनले यसअघि पनि सीमा क्षेत्रको समस्यामा फिल्म ‘दशगजा’ निर्माण गरेका थिए । फिल्ममा अभिनय गर्ने अन्य कलाकारको विषयमा भने केही सार्वजनिक गरिएको छैन ।