काठमाडौं– ‘आमा दिदी बहिनी हो, कति बस्छौँ दासी भई...., देशभक्त छोरो मर्दा देशै रुदो रहेछ..., बसाइँ हिँड्नेको ताँतिले बस्नेको मन रुँदोछ..’लगायतका दर्जनौँ चर्चित जनवादी गीतका सर्जक जेबी टुहुरेको बिहीबार निधन भएको छ । खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उनलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा आराम गरिरहेका उनको बल्खुस्थित बयोधा अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो ।
उपचारमा संलग्न चिकित्सकहरूले उनलाई स्ट्रोक भएको बताएका थिए । उनलाई सिसियूमा राखेर उपचार गराइएको थियो । ०२४ सालदेखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ । ०२८ सालदेखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँडेका थिए । उनी त्यतिबेला कोशी प्रान्तीय परिषद्मा संगठित थिए । पन्चायतविरुद्ध उनले धरानको सैनिक भवनमा ०३३ सालमा पहिलोपटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उनले सुनाउने गरेका थिए । त्यसपछि यो गीत कतिपटक गाएँ भन्ने आफैँलाई पनि हेक्का नभएको उनको भनाइ थियो ।
सुनसरीको धरानका स्थायी बासिन्दा टुहरेलाई नेकपा माओवादी केन्द्रले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । लामो समय नेकपा एमालेमा आवद्ध उनी माओवादी शान्ति प्रक्रियामा आएपछि भने माओवादीमा प्रवेश गरेका थिए । उनको पार्थीव शरीरलाई बिहीबार साढे २ बजेसम्म माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित नेता कार्यकर्ताले टुहुरेलाई श्रद्धान्जली दिएका थिए । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । टुहुरेका श्रीमती, एक छोरा र तीन छोरी छन् ।