काठमाडौं– केही कलाकारहरूको विवाहको चर्चाले बेलाबेला चलचित्र क्षेत्रलाई तरंगित पार्ने गरेको छ । लामो समय ‘विवाह कहिले गर्नुहुन्छ ?’ भन्ने प्रश्नले पच्छ्याएका अभिनेता राजेश हमालले ५२ वर्षको उमेरमा विवाह गरे । अहिले पनि केही सेलिव्रिटीहरूको विवाहको चर्चा निरन्तर चलिरहेको छ । चलचित्र क्षेत्रमा अभिनेत्री दीपाश्री निरौलासहित विवाह गर्ने उमेर पुगेको नायक, नायिकाको सूची नेपाली लामै छ ।
त्यस्तै मध्येकी एक हुन् अभिनेत्री केकी अधिकारी । केकी नेपाली चलचित्र क्षेत्रमा राम्रो अभिनय गर्नेसँगै धेरै पढेकी र वाककलामा निपुण रहेको भनेर परिचित छिन् । उनी हरेक कुरालाई तथ्य र तर्कसहित भन्न सिपालु छिन् । करिब १२ वर्ष लामो अभिनय करिअरमा अहिलेसम्म विवादमा समेत नमुछिएकी उनी उमेरले ३२ वर्षकी भइन् । उनी हालसम्म अविवाहित छिन् । उनको विवाहका बारेमा पनि उनका प्रशंसकहरूबाट अब चासो व्यक्त हुन थालेको छ ।
अभिनेत्री केकीले यिनै मेसोमा केही वर्षयता आफन्त, मिडियाकर्मी र दर्शकबाट विवाहको प्रश्न झेल्दै आएकी उनले आफूलाई विवाहदेखि निकै डर लाग्ने बताएकी छन् । केकीले आफ्ना युट्युब च्यानलमा प्रशंसकले सोधेको प्रश्नको जवाफ दिएको भिडियो राखेकी छन् । जसमा एक प्रशंसकले उनलाई बैबाहिक सम्बन्धबारे जिज्ञासा राखेका छन् । यसमा केकीको जवाफ छ, ‘मलाई विवाह भन्ने चीजसँग डर लाग्छ । त्यसैले बिहे जो–सुकैसँग होस् । फ्यानलाई म पूजा गर्छ‘ ।’ मन मिले फ्यानसँग विवाह गर्न कुनै आपत्ति नभएको उनको आशय छ ।
त्यस्तै, अर्का फ्यानले उनलाई ‘बिहे गरम्–गरम् लाग्दैन’ भनेर सोधेका छन् । जवाफमा उनले हाँस्दै भनेकी छन्, ‘बिहे गरम्–गरम् त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । जतिले पनि विवाह गरेका छन्, बिहे गरम्–गरम् लागेर गरेका होइनन् होला । मलाई बिहे नगरम्–नगरम् पनि भएको छैन ।’ उनले आजसम्म आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरूको लिस्ट लामै रहेको पनि खुलाएकी छन् ।
फिल्म ‘छ माया छपक्कै’बाट करिअरमा पहिलो पटक सफलता हासिल गरेकी केकीले निषेधाज्ञाभन्दा अगाडि आफ्नो अभिनयमा ‘बोक्सीको घर’ नामक फिल्मको निर्माण गरेकी थिइन् । फिल्मको चरित्रका लागि उनले आफ्नो कपाल समेत मुन्डन गरिन् । दशैंअघि उनी फिल्म ‘घिन्ताङ’ को छायांकन सुरु गर्ने तयारीमा छिन् । उनको पाइपलाइनमा फिल्म ‘कहानी तिम्रो मेरो’ पनि छ ।