काठमाडौं– अभिनय र नृत्य विधामा राम्रो सम्भावना भएका कलाकाहरूमध्ये एक हुन् उषा सुवेदी । उनले विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेकी छन् । मोडल उषाले ‘दोस्रो साधना म्युजिक अवार्ड, ०७७’ प्राप्त गरेकी छन् । काठमाडौंमा हालै सम्पन्न अवार्ड वितरण कार्यक्रममा साधना म्युजिक कम्पनीले उषालाई ‘दोश्रो साधना म्युजिक अवार्ड ०७७’ बाट पुरस्कृत गरेको हो ।
उषाले ‘दुई दिन हँसायो’ बोलको गीतबाट यो वर्षको सर्वोकृष्ट पपुलर अवार्ड हात पार्न सफल भएकी हुन् । पब्लिक भोटका आधारमा सुवेदीले उपाधि जितेकी हुन् । उषा अभिनित पछिल्लो म्युजिक भिडियो ‘बा, आमाको मायाँ’ ले चर्चा बटुली रहेको छ भने उनले तीन सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।
आफ्नै कडा, मेहनत र परिश्रम गर्दै यहाँसम्म आइपुगेकी उनी भविष्यमा सफल अभिनेत्री भन्ने लक्ष्यका साथ संघर्ष गरिरहेकी छन् । आफ्नो लक्ष्यसम्म पुग्न यो अवार्डले धेरै सहयोग गर्ने उनको अपेक्षा छ । उनी सफल मोडलका अतिरिक्त गीतकार पनि हुन् । उनको शब्द रचना रहेको आधुनिक तथा लोकगीत गरी १५ वटाभन्दा बढी गीत बजारमा आइसकेका छन् ।
उनलाई नेपाली कला क्षेत्रमा सम्भावना भएको मोडलको रूपमा लिइन्छ । उनी देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमो सहभागी भइसकेकी छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर–६ की स्थानीय बासिन्दा उषा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान वाग्मती प्रदेशकी सचिव पनि हुन् । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उनलाई नगद ११ हजार १११ नगदसहित सम्मान गरिएको थियो ।