काठमाडौं — नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम सोमबार नेपाल आईपुगेको छ । भारतीय टिम अपरान्ह नेपाल आईपुगेका हुन् । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो । भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको छ । अन्तिम पटक नेपालले सन् २०१५ को मार्चमा भारतविरुद्धको खेल आयोजना गरेको थियो । सन् २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए ।