काठमाडौं– चलचित्रको निर्माण ठप्प भएपछि वेब सिरिज र म्युजिक भिडियोे निर्माणमा बाढी नैै आएको छ । नाम चलेका चलचित्रका निर्देशक समेत वेब सिरिज निर्माणमा व्यस्त हुन थालेका छन् ।
यही क्रममा, निर्देशक बाबु बलामीले वेब सिरिज ‘क्रियापुत्री’ निर्माणको तयारी गरेका छन् । सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै यो वेब सिरिजको छायांकन सुरु भएको छ ।
शिवानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ । यो सिरिजमा आमाबाबुकोे निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् भन्ने देखाउन खोेजिएको निर्देशक बाबु बलामीले बताएका छन् । शबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको एक्सन र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।
कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा खुकुलो भएदेखि जोखिम मोलेरै केही निर्माताहरूले फिल्म बनाइरहेका छन् । तर, उनीहरूसँग फिल्म बनाएर देखाउने चाहिँ कहाँ भन्ने प्रश्नको उत्तर छैन । ‘बनाएर राखौँ न’ भन्ने जवाफ मात्र सुन्न पाइन्छ । नेपालमा शक्तिशाली ओटीटी प्लेटफर्म नहुँदा निर्मातासँग फिल्म रिलिजका लागि हल कुर्न‘को अरु विकल्प छैन । तर, कुर्ने चाहिँ कहिलेसम्म ? यो अहिलेको टड्कारो प्रश्न हो ।
कोरोनाका कारण सिनेमा हल खुल्ने निश्चित नहुँदा निर्देशकहरूले डिजिटल प्लेटफर्मका लागि वेब सिरिज निर्माण थालेका हुन् । फिल्मभन्दा कम जोखिम भएकाले निर्देशकहरू वेब सिरिज निर्माणतर्फ आकर्षित भएको बताइन्छ । ‘बलवान’, ‘जंगली मान्छे’, ‘मार्यो नी मायाले मा¥यो’, ‘जंगल क्विन’ जस्ता फिल्मका निर्देशक तथा निर्माता बाबु बलामी पनि सिनेमा हल बन्द भएपछि नयाँ फिल्मको कामलाई थाती राखेर वेब सिरिज निर्माणमा जुटेका छन् । उनले जोखिम कम भएकाले वेब सिरिजको कामलाई अगाडि बढाएको उनले प्रतिक्रिया दिएका छन् ।