काठमाडौं– अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ)को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली फिल्मको लोकप्रिय कलाकारलाई फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा डेलिगेसनले खुसी व्यक्त गरेको छ ।
दयाहाङले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् । फिल्मका गतिविधि ठप्प भएको समयमा भर्च‘अल रूपमै भए पनि फेस्टिभलले फिल्मकर्मीमा ऊर्जा दिने उनको भनाइ छ ।‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुनेछन्, यसले झनै उत्साहित बनाएको छ,’ उनले भने । उनले यो फेस्टिभल आफैँमा सांस्कृतिक आदान प्रदान जस्तो भएको भन्दै फेस्टिभेलले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
भौतिक उपस्थितिमा हुँदै आएको नेपाल–युरोपियन फिल्म फेस्टिभल यस वर्ष भर्च‘अल रूपमा हुँदैछ ।
फेस्टिभलको दशौँ संस्करण आउँदो १ देखि ९ असोजसम्म चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैंगिक समानताबारे लघु फिल्म प्रतियोगिताको विजेता घोषणा तथा फिल्मसँग सम्बन्धित विभिन्न महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठीहरू सञ्चालन हुने जनाइएको छ ।