मोरङ– विराटनगर महानगरपालिकामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप २८ हजार ५ सय जनाले लगाएको जनाएको छ । लक्षित समूहका अझै १ लाख २० हजारभन्दा बढी सर्वसाधारण खोप पाएका छैनन् ।
महानगरपालिका खोप शाखाका अनुसार हालसम्म कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसिल र जोनसन एन्ड जोनसन गरी सो संख्यामा सर्वसाधारणले खोप लगाएका हुन् । महानगर प्रमुख भीम पराजुलीले जनसंख्याको तुलनामा खोपको मात्रा अझै महानगरपालिकामा बढाउनुपर्ने बताए । मेयर पराजुलीले खोपको व्यवस्थापनका लागि सरकारसँग माग गरेका छन् । अझै १ लाख २० हजारभन्दा बढी सर्वसाधारण खोपको पहुँचबाट टाढा भएको उनले बताए ।
केही दिनअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग १८ वर्षमाथि र विद्यार्थीलाई खोप उपलब्ध गराउनका लागि ध्यानाकर्षण गराएको मेयर पराजुलीको भनाइ छ । उनले भेरोसिलको दोस्रो चरणको खोप कार्यक्रम सकिएपछि प्लस टु र विश्वविद्यालयका विद्यार्थीलाई खोप लगाउनका लागि महानगरपालिकाले कार्यक्रम बनाएको बताए । महानगरमा कोरोना संक्रमितको संख्यामा कमी आउँदै गएको बताएका मेयर पराजुलीले मृत्युदर समेत घटेको उल्लेख गरे । खोपको सहजतासँगै सर्वसाधारणमा जनचेतनाका कारण संक्रमितको संख्यामा कमी आएको हुन सक्ने उनको बुझाइ छ ।
महानगरपालिका खोप शाखाका प्रमुख अमरदीप देवका अनुसार महानगरपालिकामा हालसम्म कोभिसिल्ड र एस्ट्राजेनिकाको पहिलो डोज गरी कुल १२ हजार ३५ जनाले खोप लगाएका छन् । उनले कोभिसिल्डको विकल्पमा महानगरमा ११ हजार ५ सय जनाले एस्ट्राजेनिका खोप लगाएको बताए ।