काठमाडौं– तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । तर, उनको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा निशाको उपचारमा संलग्न डा. पंकज जलानले तीन महिनामा उनको स्वास्थ्यमा खासै सुधार नआएको बताए । निशाको उपचारमा नर्भिकमा उपलब्ध सबै प्रविधि, सीप तथा विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा सुधार नदेखिएको डा. जलनको बताए । ‘हामीले नर्भिक र नेपालमा उपलब्ध सबै प्रविधि, सीप तथा विधिको प्रयोग गरिसक्यौँ, तर उहाँको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको छैन,’ उनले भने ।
अस्पतालका निशाको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको जनाएको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि गत २७ जेठमा उद्दार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् ।
दुर्घटनापछि घिमिरेको ब्रेन ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकाले अहिले हरेक कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको पत्रकार सम्मेलनमा
जनाइयो ।
उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको खण्डमा एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने डा. जलानको भनाइ छ । उनले निशाको स्वास्थ्य पूर्ण रूपमा सामान्य नहुने पनि अस्पतालले अनुमान गरेको छ ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समयमा उनी सवारी दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको महँगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत नेपाल ल्याए । उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।