काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउन आधादर्जन बढी नेता कसरतमा छन् । तर, मुख्यतः संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आधिकारिक उम्मेदवारबीच नै मुख्य प्रतिष्पर्धा हुने निश्चित प्रायः छ । त्यसैले पौडेल समूह र संस्थापन समूहको आधिकारिक उम्मेदवार बन्न नेताहरूबीच तीव्र प्रतिष्पर्धा छ । संस्थापन पक्षबाट देउवा आफैँ सभापतिको उम्मेदवार बन्ने निश्चित छ । उनको समूहबाट उम्मेदवार बन्न प्रयास गरेको उपसभापति विमलेन्द्र निधिले देउवाले सहयोग नगर्ने बुझेपछि एक्लै उम्मेदवार बन्ने प्रयासमा लागेका छन् । उनले बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापति पदमा उम्मेदवार बन्ने र भोट माग्ने काम थालिसकेका छन् ।
सभापति पदको उम्मेदवार छान्न पौडेल पक्षलाई सबैभन्दा सकस देखिएको छ । पौडेल समूहले सभापतिको उम्मेदवार टुंग्याउन पटकपटक गरेको प्रयासले सार्थकता पाउन सकेको छैन । मंगलबार पनि पौडेल समूहबाट सभापति पदका आकांक्षीहरूबीच सहमतिको प्रयास गरियो । तर, उक्त छलफलले सभापतिको उम्मेदवार छान्न सकेन । सभापतिको उम्मेदवार चयन गर्न बसेको पौडेल समूहको बैठकले सहमति जुटाउन नसके पनि आफ्नो समूह एक ठाउँमा रहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिमा आफ्नो पक्षका उम्मेदवार तय गर्ने जनाएको थियो । तर, निरन्तरको छलफलमा पनि तत्काल सहमति जुट्ने सम्भावना नदेखिएपछि तल्लो तहका कार्यकर्तालाई आफूहरू एकै ठाउँमा रहेको सन्देश दिन सामूहिक आह्वान गर्ने रणनीति तय गरेका हुन् ।
मंगलबार वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा बसेको बैठकमा सभापतिसहित पदाधिकारीको टुंगो लगाउनेबारे छलफल भएको थियो । ‘हामीहरूबीच वडा अधिवेशन अघि नै नेतृत्वसहित पदाधिकारी टुंगो लगाउनुपर्छ भन्नेमा छलफल भयो, तर अहिले नाममा नै सहमति जुटेको छैन,’ छलफलमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘भोलि पनि हामी छलफल गरेर नाम टुंगो लगाउने प्रयास गर्छाैँ, त्यो सम्भव भएन भने सार्वजनिक रूपमा महाधिवेशनमा एक भएर जान्छौँ भनेर प्रतिवद्धता जनाउछौँ ।’