काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावसहितको वार्षिक साधारण सभा आगामी ७ असोजमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा र निर्वाचन आयोजना गर्नका लागि स्वीकृति दिएसँगै संघको चुनावको मिति निश्चित भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निर्वाचन गर्नका लागि अनुमति माग भएबमोजिम अनुमति प्राप्त भएको र सोहीअनुसार निर्वाचनमा अगाडि बढेको संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । संघले साधारण सभा सञ्चालन गर्नका लागि अनुमति पाउँ भन्दै प्रशासनलाई पत्र लेखेको थियो । सोही पत्र अनुसार प्रशासनले जारी गरेको पत्रमा कोभिडको महामारीको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचनसहितको साधारण सभा सम्पन्न गर्न भनिएको छ । पत्रमा सामाजिक दूरी कायम गरेर कार्यक्रम सम्पन्न गर्नका लागिसमेत अनुरोध गरिएको छ । पत्रमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई बोधार्थ लेखिएको छ ।
प्रशासनबाट चुनावका लागि स्वीकृत प्राप्त भएसँगै संघमा चुनावको सरगर्मी सुरु हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारका क्षेत्रमा संलग्न ८ सय ५४ व्यवसायीहरूले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छन् । चुनावका लागि स्वीकृति प्राप्त भएसँगै उम्मेदवारीका विषयमा समेत चर्चा सुरु हुने महासचिव श्रेष्ठले बताए ।
यसअघि निर्वाचित संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएपछि वरिष्ठ उपाध्यक्ष कमल तामाङलाई कार्यबाहक तोकिएको छ । संघको विधानअनुसार लामो समयसम्म अध्यक्षविहीन राख्नु नहुने भए पनि कोभिड–१९ का कारण विशेष साधारण सभाको आयोजना गर्न सकिएको थिएन । यसैबीच, संघले साधारण सभाको आयोजना गर्ने अनुमतिसहित गत ४ भदौमा जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । सोही अनुसार प्रशासनले मंगलबार संघलाई निर्वाचनसहितको साधारण सभा गर्न अनुमति दिएको छ । तर, यसका लागि संघले सामाजिक दूरी भने कायम गर्न भनेको महासचिव श्रेष्ठले बताए ।