काठमाडौं– काठमाडौं उपत्यकाका फिल्म हलहरू बिहीबारदेखि खोल्न पाइने भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको जानकारी दिएका छन् ।
‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौँ’ सीडीओ पराजुलीले भने । उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । प्रजिअको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।
प्रशासनको पछिल्लो निर्णयले चलचित्रकर्मी उत्साहित बनेका छन् । लामो समयदेखि बन्द रहेको हल खुला हुँदा चलचित्रसम्बन्धी गतिविधि तीव्र बन्ने उनीहरूको अनुमान छ । स्थानीय प्रशासनले हल सञ्चालन तथा चलचित्र छायांकनको अनुमति नदिएको अवस्थामा नै केही चललिचत्रहरूको छायांकन भइसकेको छ । केही अहिले पनि फ्लोरमा छन् । त्यस्तै पछिल्लो समय निर्माता निर्देशकहरूले वेब सिरिज र विभिन्न म्युजिक भिडियो निर्माण गरिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलो पटक ११ चैत ०७६ देखि लकडाउन गरेको थियो । त्यस समय करिब ९ महिना चलचित्र क्षेत्र ठप्प बनेको थियो । त्यसपछि केही समय खुलेका हलहरू कोरोना महामारीको दोस्रोलहर सुरु भएपछि १६ वैशाख ०७८ देखि बन्द गरिएका थिए । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै गत वैशाखदेखि बन्द गरेको फिल्म हल बिहीबारबाट खुल्न लागेको हो ।
लामो समय फिल्म हल र चलचित्र निर्माणको कामसमेत बन्द हुँदा यस क्षेत्रमा क्रियाशील प्राविधिक तथा अन्य धेरै जनशक्तिले संकट व्यहोर्नु परेको थियो । हल बन्द हुँदा कतिपय जनशक्ति यसक्षेत्रबाटै पलायन भइसकेको बताइएको छ ।