काठमाडौं– अभिनेताहरू सौगात मल्ल, अनमोल केसी र पुष्प खड्का पहिलो पटक फिल्ममा एकसाथ देखिने तयारीमा छन् । यसअघि कहिले पनि एकसाथ स्क्रिन शेयर नगरेका तीन अभिनेताको उपस्थितिले दर्शक पनि चलचित्रको प्रतिक्षामा छन् । उनीहरू मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन–थ्रिलर फिल्म ‘एक्स ९’ मा स्क्रिन शेयर गर्न तयार भएका हुने । फिल्ममा उनीहरू एक्सन अवतारमा प्रस्तुत हुनेछन् । यसका लागि तीनै स्टारले बुधबारबाट एक्सन तालिम लिन सुरु गरेका छन् ।
प्रत्येक दिन तीन घन्टाका लागि राजधानीको एक जिम ट्रेनिङ हल भाडामा लिएर निर्माण टिमले कलाकारको जिम र एक्सन तालिम सुरु गरेको हो । यसका लागि सौगात, अनमोल र पुष्पसँगै राज कटुवाललाई पर्सनल ट्रेनर उपलब्ध गराइएको छ । निर्देशक भट्टका अनुसार, कलाकारहरूको जिम र एक्सन तालिम चार महिना चल्नेछ । सोचेजस्तो नभए अरु एक महिना थपिन सक्ने उनले बताए ।
कलाकारको जिम र एक्सन ट्रेनिङका लागि मात्र निर्माताको मोटो रकम खर्च हुने देखिन्छ । नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ लकडाउन नभएको खण्डमा आगामी पुसदेखि छायांकन सुरु हुनेछ । यो फिल्ममा भिलेनको भूमिकाका लागि निर्माण टिमले बलिउड तथा साउथ अभिनेता सोनु सुद र नवाजुद्दीन सिद्दीकीलाई अफर गरेको बताइएको छ ।
क्यानडा, युरोप र नेपालमा खिचिने फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले संयुक्त रूपमा तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा प्रियंका थापा एकल अभिनेत्रीको रूपमा रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।