- राम कुमार चौधरी -
रगत हरेक प्राणीका लागि नभई नहुने तत्व हो । रगत बिना जीवनको कल्पना गर्न असम्भव छ । रगत अमुल्य छ, यसको कुनै मूल्य छैन । रगत कुनै बजारमा पाउने वस्तु होइन जसलाइ सजिलै किन्न सकियोस् । रगत कुनै औषधि होइन जसलाइ रसायनिक प्रक्रियाद्वारा बनाउन सकियोस् अथवा उत्पादन गर्न सकियोस् । रगतको विकल्प रक्तदान हो । यस्तो अमुल्य चिजमा संबेदनसिल हुन जरुरी छ ।
शरीरमा रगतको सन्तुलित परिमाण हुन जरुरी छ । रगतको कमी हुँदा मान्छे बिरामी हुने वा ज्यानै जाने हुनसक्छ । कसैलाई रगतको आवश्यक पर्यो भने पसलबाट सामान किने जसरी किन्न सकिदैन, यसका लागि रक्तदान गर्ने व्यक्तिको आवश्यकता पर्छ । बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपले धेरै मानिसहरु प्रताडित हुन्छन् । त्यतिबेला रगतको आवश्यक हुन्छ ।
रक्तअल्पता, सिकलसेल, थालस्मियाका बिरामीहरुलाई नियमित रगत आवश्यक पर्दछ । प्रसुतीको समयमा शल्यकृया गर्दा महिलाहरुलाई, विभिन्न शल्यकृया गर्दा सबैलाई रगतको अत्याधिक आवश्यक पर्दछ । थोरै थोरै संकलित रगतले बिरामीलाई सहयोग पुग्छ । रक्तदान स्वस्फूर्त तवरले दिने कार्य हो । रगतदान गर्ने जस्तो ठूलो मानविय कार्य अरु कुनै छैन । बिश्वमा मनिसले ज्यान गुमाउने कारण मध्य रगतको अभाव पनि मुख्य हो । प्राकृतिक प्रकोप कुनै संकेत दिएर आउँदैन अचानक आउँछ र ठूलो धन जनको क्षति गर्छ । यस्तो अवस्थामा रगतको अभावले धेरैले ज्यान गुमाउने गर्दछन् । २०७२ सालको बिनासकारी भुकम्पमा दस हजार भन्दा बढिले ज्यान गुमाएका थिए त्यो अवस्थामा पनि रगतको अत्याधिक आवश्यकता परेको थियो ।
रगतदान गर्नेहरुको अभावले सधै रगत आवश्यकता भन्दा कम स्टक हुने गरेकोछ । रगतले जात हेर्दैन । अघि पछि जात भातको कुरा गर्ने ब्यक्तिले आफुलाई रगत आवश्यक परेको बेला थाहा पाउँछ कि रगत सबैको रातो हुन्छ र रगत सबैलाई चल्दो रहेछ भनेर । मानिस सामाजिक प्राणी हो, जसरी समाजमा एउटाको दुःखमा अर्कोले सहयोग गर्छ त्यसरी नै रक्तदान गर्न जरुरी छ । तर रगतको कुरा आउँदा मान्छे पछि हट्ने प्रवृत्ति देखिन्छ । आफनै परिवारको सदस्यलाई रगत चाहिंदा पनि आफुले रगत नदिई अरु रक्तदाता खोज्ने गरेको हामीले देखेका छौं, जुन हामी सबैका लागि बिडम्वना हो । नियमित रक्तदान नगरे पनि विभिन्न अवसरमा रक्तदान गर्दा राम्रो हुन्छ । विभिन्न उत्सब, जन्मदिनको अवसर फजुल भोजमा खर्च गर्नुभन्दा यस्तो मानविय कार्य गर्नु उत्तम हुन्छ । रक्तदान सम्बन्धि मानिसको गलत धारणा रहि आएको छ । रक्तदानको कुरा गर्दा शरिर कमजोर हुने गलत धारणा रहेको छ । धेरै व्यक्तिमा रहेको यस्तो गलत धारणाको भुतलाइ चिर्न जरुरी छ ।
रक्तदान गर्नु सामाजिक कार्यका साथै स्वस्थ बन्नु पनि हो । समान्यतया १८ वर्ष देखि ६० वर्ष उमेर समुहका न्यूनतम ४५ किलो तौल भएका शारीरिक र मानसिक रुपमा स्वस्थ ब्यक्तिले रक्तदान गर्न मिल्छ । महिलाको हकमा महिनावारी भएको बेला, पेटमा बच्चा भएको बेला, बच्चाले दूध खाने बेला बाहेक स्वस्थ महिलाले रक्तदान गर्न मिल्छ । हाम्रो शरिरको आवश्यक भन्दा केही धेरै रगत शरीरमा रहेको हुन्छ । आफुलाई अलि धेरै भएको रगत नै दान गर्ने हो जसले शरीरलाई कुनै हानी गर्दैन ।
शरीरमा रगत उत्पादन प्रक्रिया चलिरहन्छ । हामीले दिएको रगत ९० दिन भित्र पुनः सृजना भइसक्छ । शरीरमा रगत उत्पादन हुने, मर्ने प्रक्रिया चलिरहन्छ । रगत खेर जानु भन्दा आवश्यक परेकोलाई दिनुपर्छ । स्वस्थ ब्यक्तीले तीन तीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्न मिल्छ । रक्तदानले शरीर स्वस्थ हुन्छ र फुर्तिलो भएको महसुस हुन्छ । नियमित रगत दिदा हाम्रो स्वास्थ्य परिक्षण भइरहन्छ र शरीरको स्वास्थको बारेमा आफुलाइ जानकारी भइरहन्छ । रक्तदानले कतिपय मुटु सम्बन्धि रोग निदान भएको पनि प्रमाणित भैसकेको छ । रक्तदान गर्ने मान्छेको रक्तदान नगर्नेको भन्दा दुई गुना हृदयघात हुने सम्भावना कम हुन्छ भन्ने भनाई छ । यी तथ्य बाट पनि प्रष्ट हुन्छ कि रक्तदानले शरीरलाई कुनै हानी गर्दैन ।
शिक्षित युवाहरुलाइ रक्तदान सम्बन्धि चेतना नभएको होइन । चेतना छ तर उनीहरुमा उत्प्रेरणाको खाचो छ । मेरो उमेर २१ वर्ष भए देखि समयले भ्याए सम्म र स्वस्थ भएको अवस्थामा नियमित रक्तदान गर्दै आइरहेको छु र भबिष्यमा पनि गर्ने छु । आज सम्म १० पटक मैले रक्तदान गरिसकेको छु । मेरो आज सम्मको रगतले कतिको ज्यान बचेको होला यहि कुराले मलाई आत्म सन्तुष्टिको आभाष गराउँछ । मेरो एक थोपा रगतले कसैको ज्यान बच्छ भने यस्तो मानविय कार्यमा म किन अग्रसर नहुने ? मेरो जीवनको ६० वर्ष सम्म कसो १०० पटक नपुग्ला ?
शहरी क्षेत्रमा रक्तदान सम्बन्धी जनचेतना अझै पनि प्रयाप्त मात्रमा पुगेको छैन भने ग्रामीण क्षेत्र त झन टाढाको कुरा भयो । संघ संस्था, युवा समूह मार्फत बिद्यार्थी, युवाहहरुलाई रक्तदान गर्न उत्प्रेरणा जगाउन जरुरी छ । पाठ्यक्रममा पनि रक्तदानको महत्व बारे समाबेश गर्न जरुरी छ । अझै पनि रक्तसञ्चार केन्द्रहरु शहरी क्षेत्रमा मात्र सिमित रहेको देखिन्छ । अव यसलाई ग्रामीण क्षेत्रमा बिस्तार गर्न जरुरी छ । मान्छेहरु धर्म कमाउने नाममा पुजा आराधना गर्ने, धुप बत्ती बाल्ने गर्छन् । मन्छेको जीवन बचाउने जस्तो धर्म अरु केही हुँदैन । कुन बेला आफुलाई रगतको आवश्यकता पर्छ थाहा हुँदैन, त्यसैले आफ्नो जस्तै अवस्था अरुको पनि होला, हुन सक्छ भनेर नियमित रक्तदान गरौं, आफु स्वस्थ बनौं, अरुलाई पनि स्वथ बनाऔं ।