काठमाडौं– गत वर्ष निषेधाज्ञाभन्दा अगाडि भारतको सिक्किममा छायांकन भएको अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही अभिनित फिल्म ‘जार’ को फस्र्टलुक पोस्टर रिलिज गरिएको छ । आइतबार सार्वजनिक भएको पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ ।
यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको भनिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा भएको एक यथार्थ घटनालाई बोल्नेछ । पोस्टरमा फिचर तीन पात्रको वरिपरि नै फिल्मको कथा घुम्नेछ । गीताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’ को कथा इन्द्र बहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले ‘होप रिल एण्ड एलए सर्ट्स’ सँगको सहकार्यमा यो फिल्म निर्माण गरेको हो । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ ।
फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पूर्ण प्राविधिक काममा भारतीय टिम संलग्न छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ । यद्यपि कोरोना महामारीको कारण हलहरू पूर्णत नखुल्दा फिल्मको प्रदर्श प्रभावित हुनेसक्ने अनुमान गरिएको छ ।