काठमाडौं– वाग्मती प्रदेशमा पाँच महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा पुनः सुचारु भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत १५ वैशाखदेखि स्थगन गरिएको परीक्षा आइतबारदेखि पुनः सुरु गरिएको हो । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स परीक्षा सुचारु गर्ने निर्णय गरेअनुरूप आइतबार काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका यातायात कार्यालयहरूले परीक्षा लिएका छन् ।
मन्त्रालयका अनुसार आइतबारको परीक्षामा यसअघि प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राही सहभागी भएको जानकारी दिएको छ । नयाँ लाइसेन्सको आवदेकहरूले भने अहिले नै परीक्षामा सहभागी हुनसक्ने छैनन् ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–०७८ का अनुसार परीक्षा लिन थालिएको जानकारी दिएका छन् । यो मापदण्डअनुसार परीक्षा पद्धतिलाई थप सहज र वैज्ञानिक बनाइएको छ ।
मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने पनि उल्लेख छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।
तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तिमा २४ घन्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।
कार्यालयले खुला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, ०७७’ अनुसार परीक्षा हुनेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमुना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटरसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो ।
लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णांक १०० रहने गरी चार÷चार अंकका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही संग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अंक ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।
यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ ।
नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।