काठमाडौं – आमाबुबाका विषयमा संसारमा कति कृति सिर्जना भए, कति सिनेमा, गीत, कथा, कविता र अन्य रचनाहरू भए ? तुलनात्मक रूपमा अन्य विषयभन्दा अत्यन्त कम नै छन् ।
नेपालमा पनि आमाबुबासम्बन्धी सिर्जनाहरू नगन्य मात्रामा मात्र छन् । यही आवश्यकता पूर्ति गर्न र आमा बुबाप्रति सन्तानहरूको धारणा कस्तो हुनु पर्छ भन्ने भावको ‘बाआमा’ शीर्षकको गीत गीतकार निश्चल श्रेष्ठले सार्वजनिक गरेका छन् ।
उक्त गीतमा विकास चौधरीले मर्मस्पर्शी संगीत भरेका छन् भने लोकप्रिय गायक प्रमोद खरेलले जीवन्त आवाज दिएका छन् । मंगलबार कुशे औँशी, बुबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर गीत सार्वजनिक गरिएको हो । बाबुको मुख हेर्ने दिन लक्षित गीतमा धेरैले आफ्ना आमा बुबासँग टिकटक बनाएका छन् । टिकटक प्रतिस्पर्धा पनि आयोजना गरेको गीतकार निश्चल श्रेष्ठले बताएका छन् । उत्कृष्ट तीन जनालाई पुरस्कार यस गीतको अफिसियल म्युजिकल फिल्ममा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने छ ।
ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ ।
एउटा सन्तानले आफ्ना आमाबुबालाई कुन रूपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहनरूपमा प्रस्तुत गरिएको छ ।
मिरा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा एरेन्जरः रोशन बान्तवा, रेकर्डिष्ट सुबास कुथुमी राई, गीतार वर्क संजीव लिम्बू, ढोलक÷तबला÷मादल भरत बुढाथोकी, बाँसुरी संजीव मैनाली र मिक्सिङ गोविन्द सोनी गरेका हुन् । लिरिकल भिजुअल इडिट केपी देवकोटा तथा पोष्टर डिजाइन चिरन्जिवी नौवागेले गरेका हुन् ।