काठमाडौं– निर्देशक देवेन्द्र पाण्डेलाई एकसातामा ‘ब्याक टु ब्याक’ सम्मान मिलेको छ । ग्ल्यामर उद्योगमा प्रवेश गरेको छोटो समयमै आफूलाई निर्देशकका रूपमा स्थापित गराएका उनलाई पछिल्लो साता दुईवटा संस्थाले सम्मान गरेको हो ।
उनलाई महानायक राजेश हमाल र पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको हातबाट सम्मान मिलेको छ । उनलाई यसहप्ता पहिलो सम्मान गोकर्णेश्वरस्थित प्रगति महिला समूहले गरेको थियो । २० भदौमा आयोजित ‘महिला सशक्तिकरण र महिला हिंसाविरुद्ध अभियान विषय अन्तक्र्रिया तथा स्रष्टा सम्मान कार्यक्रम’मा पाण्डेलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा महानायक हमालले उनलाई सम्मान गरे । भिडियो निर्देशनको माध्यमबाट महिला सशक्तिकरण र महिलामाथि हुने हिंसाको घटनाविरुद्धमा चेतना जागृत गरेवापत समूहले उनलाई सम्मान गरेको थियो । कार्यक्रमपछि उनले सम्मानले अझैं आफूलाई महिलाहरूको उत्थान र हितका निमित्त काम गर्ने प्रेरणा जागेको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, निर्देशक पाण्डेलाई एक्टिभ इन्टरटेनमेन्ट प्रालिले ‘युवा म्युजिक भिडियो निर्देशक सम्मान ०७८’ प्रदान गरेको छ । छोटो समयमा धेरै म्युजिक भिडियोको निर्देशन गर्दै कला क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । उक्त सम्मान राज्यमन्त्री मानन्धरले प्रदान गरेका थिए । उक्त अवसरमा उनीसहित गायकहरू शिव परियार, रूपक डोटेल, संगीतकार सन्तोष श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
निर्देशक पाण्डेले हालसम्म तीन सयभन्दा धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । नेपाली चलचित्र उद्योगका माहानायक राजेश हमाललाई म्युजिक भिडियोमा खेलाएर उनले आफूलाई उनका प्रिय निर्देशकको दर्जामा राखेका छन् । धेरै गिनेचुनेका चलचित्र निर्देशक पनि राजेशलाई अभिनय गराउन हिच्किचाइरहेका बेला एकपछि अर्को गीतको भिडियोमा पाण्डेले राजेशलाई पर्दामा उतारिरहेका छन् । राजेशलाई मुख्य भूमिकामा अभिनय गराएर उनले तयार पारेको ‘क्यारम् त नि’ बोलको भिडियो दर्शकमाझ आइसकेको छ ।
पाण्डेले ०६५ सालमा ‘छुट्टिँदैमा माया मर्दैन’ बोलको गीतबाट निर्देशनमा डेब्यु गरेका थिए । उनका ‘कुन धाराको पानी, तिमी फूल बन, सुखमा तिमीसँगै, बग्ने खोला, मूलको पानी, चाइनाको रेल, प्रेम प्रस्ताव’लगायतका भिडियो चर्चित छन् । उनले दुईवटा फिल्म पनि निर्देशन गरेका छन् । उनले निर्देशन गरेका ‘वान साइड लभ’ र ‘भिलेन’ नामक चलचित्र तयार छन् ।