नेपालगन्ज । भाद्र १ गते ।
मुवारक दर्जि अहिले १४ बर्षका भए, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ निवासी दर्जीका बुवा मकबुल दर्जी गाँउका एक सम्मानती ब्यक्ति थिए । उनको घरमा सानो पसल भएपनि सो पसलले घर खर्चा घान्न गाह्रो भएपछि उनका बुवाले रिक्सा चलाएर परिवारको भरण पोषण गर्न थाले । मुवारक दर्जिको पढाईमा निकै रुचि भएका कारण बुवाले उनलाई बोडिङ्ग स्कुलमा पढाईरहेका थिए । परिवार राम्रैसँग चलीरहेको थियो २०७४ माघ महिनामा एक्कासी बिरामी परेर थलिएका उनका बुवाको केही दिनमै निधन भयो । बुवाको मृत्यु पछि उनको पढाई अगाडी बढ्न सकेन कारण थियो परिवारको न्यून आर्थिक अवस्था ।
बुवाको मृत्यु पश्चात घरमा दुई छाक टार्न समेत अप्ठेरो पर्न थालेपछि मुवारक पढाई छाडेर दैनिक ५० देखि १०० रुपैया पाउने गरी नेपालगन्ज धम्बोझि स्थित एक मोवाईल पसलमा काम गर्न थाले । पढीरहेको छोराले पढाई छाडेर काममा गएको उनकी आमा सबनम दर्जीलाई कतै चित्त बुझेकोे थिएन तर उनकालागि घर खर्च चलाउने अरु कुनै उपाय पनि थिएन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना युनिसेफको सहयोगमा बासद्धारा संचालीत बालश्रम न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम लागु भए पश्चात मुवारकको नाम श्रमिक बालबालिकाको रुपमा दर्ता भयो । सोही कार्यक्रम अन्तरगत श्रमिक बालबालिकाको परिवारको आय आर्जनका लागि गरिएको सहयोगमा उनी पर्न सफल भए । उनले पाएको सहयोगबाट किराना पसल सन्चालन गरिन् । पसल संचालन गरेसँगै उनकी आमा सबनमलाई परेको पिर बिस्तारै कम हुदै गयो उनले सहयोग पाए पछि काम गरिरहेको छोरालाई काम बाट फर्काई बिद्यालय भर्ना गरि पुनः पढाउन थालेकिछिन् । अहिले उनको पसलमा दैनिक २०० देखि ४०० रुपैंया सम्मको बिक्रि हुने उनी बताउछिन । पसलले घरखर्चा राम्रैसँग चलेको उनी बताउछिन् । हाल मुवारक नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित ज्ञान सागर माबि परसपुरमा भर्ना भई कक्षा ४ मा नियमित अध्ययन गरिरहेका छन् ।
पहिले परिवारको आर्थिक अवस्था निकै न्यून भएका कारण कहाँ जाने के गर्ने थियो तर अहिले उनी बिहानै देखि साँझ अबेर सम्म पसलको काममा ब्यस्त हुन्छीन् । परिवारमा खानाको लागि छिमेकीहरुसँग माग्ने उनी अहिले आफ्नै कमाईले सबै पुगेपछि खुसी छिन् । हाल उनले दैनिक ईन्द्रावती सहकारीसँस्थामा ५० रुपैया जम्मा गरिरहेकी छिन् भने फरवार्ड बैंकले गठन गरेको समुहमा मासिक २०५ रुपैया जम्मा गरिरहेकी छन् । मासिक १० हजार देखि १५ हजार सम्मको सामान पसलमा थप्ने गरेको उनी बताउछीन् । बिस्तारै जिवनमा आएको परिवर्तन र मजबुद बन्दै गएको आर्थिक अवस्थाबाट उनी निकै खुसी छिन् । पसलबाट आएको फाईदाबाट धेरै रकम जम्मा गरेर छोरालाई राम्रो सँग पढाउने उनको योजना छ ।
यस्तै गरी बास नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिका र युनिसेफ नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बालश्रम न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम बाट आय आर्जनका लागि सहयोग पाएका परिवारहरुको आय आर्जनमा सुधार आई पारिवारिक आर्थिक अवस्था सुदृढ बन्दै गएको संस्थाले जनाएको छ । कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १०, ११, १२, १६ र १७ का बाल श्रमिक १५ घर परिवारलाई आय आर्जनका लागि सहयोग गरेको थियो । सहयोग पश्चात सबै परिवारले बालबालिकालाई श्रमबाट रोकी बिद्यालय पढाईरहेको बताईएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५ १०:५४