काठमाडौं– नेपाली चलचित्र क्षेत्रको उत्थान र विकासको लागि अतुलनीय योगदान दिँदै आएका कुशल छायाँकार हुन् निरज कँडेल । झण्डै दर्जनको हाराहारी चलचित्र छायांकन गर्न भ्याएका छायांकार निरज कँडेल धादिङ, बेनिघाट–९ का स्थानीय वासिन्दा हुन् । सिनेमाटोग्राफरको भीडमा आफूलाई छोटो समयमा अब्वल छायांकारको रूपमा चिनाउन सफल कँडेल चलचित्रलाई मनोरञ्जन र समाज परिवर्तनको संवाहक मान्छन् । उनी कला क्षेत्रप्रति लगाव राख्दै यसैक्षेत्रमा निरन्तर लागि परिरहेका व्यक्ति हुन् ।
नेपाली चलचित्र र नेपाली मनोरञ्जनात्मक उत्पादन विश्व बजारसम्म पुग्नुपर्ने र यस क्षेत्रका अग्रज हस्तीहरूले यो विषयमा अलि बढी सकृय हुने हो भने नेपाली चलचित्रले पनि विश्वबजारमा रामै्र स्थान पाउन सक्ने उनको धारणा छ । चलचित्र ‘अल्लारे’बाट मेकअप आर्टिष्टको रूपमा सिनेक्षेत्रमा प्रवेश गरेका कँडेल अहिले निर्माता, निर्देशकहरूको रोजाइको ‘क्यामरा पर्सन’ बन्न सफल भएका छन् । योजना बनाएरभन्दा पनि कर्म गरेरै चलचित्र क्षेत्रमा आफूले अझै धेरै गर्न‘ रहेको बताउने कँडेलले सुरुआतमा ‘औँठाछाप’, ‘सहर’, ‘गौँथली’, ‘प्रेम युद्ध’, ‘हाम्रो सानो घर होला’, ‘तिम्रो माया ९९ मेरो माया १००’ लगायतका चलचित्र र दर्जनौँ म्युजिक भिडियोमा मेकअप आर्टिष्टको रूपमा समेत काम गरेका थिए ।
युनिटमा सबैसँग मिलेर सहकार्य गर्न सिपालु कँडेल यतिबेला कोरोनाका कारण निषेधाज्ञाको समयमा पनि चेतनामूलक डकुमेन्ट्री खिच्ने कार्यमा व्यस्त छन् । आफ्नो क्षमताका कारण नेपाली चलचित्र जगतमा एकपछि अर्को काममा निरन्तर लागिरहेका कँडेल चलचित्रको मेरुदण्डमध्ये छायांकारको भूमिका पनि महत्वपूर्ण रहने बताउछन् । निरन्तर नेपाली चलचित्र जगतमा आफ्नो उपस्थिति जनाउँदै आइरहेका कँडेल आफ्नो कामको माध्यमबाट नेपाली कलाप्रेमी र दर्शकको मन मष्तिष्कमा बस्न सफलमध्येका एक हुन् । आफ्नो कामबाट सन्तुष्ट रहेका व्यस्त छायाँकार कँडेलको सकारात्मक सोचले ऊर्जा दिने, गरेको हरेक कामले भविष्यमा सन्तुष्टि दिने र जिन्दगीलाई सृष्टिको सुन्दर उपहार मानेर यसलाई सकारात्मक तरिकाले ग्रहण गरेर लानसके जीवन सार्थक बन्ने बुझाइ छ ।
नेपाल टेलिभिजनबाट प्रसारण भएको टेली चलचित्र ‘तिमि पुरुष’, ‘गंगा जमुना’लगायत दर्जनाँै डकुमेन्ट्री म्युजिक भिडियो गर्दै नेपाली फिचर्स फिल्म ‘त्रिदेव’, ‘पर्खाल’, ‘चपली हाइट’, ‘लुट’, ‘कम्पनी’, ‘हत्कडी’, ‘लव फरेबर’, ‘तोरी लाहुरे’, ‘लब लब लब’, ‘चपली हाइट २’, ‘बिर्खेलाई चिन्छसर’, ‘हैरान’, ‘पशुपति प्रसाद’, ‘घर’, ‘चंगाचेट’, ‘मिस्टर नेपाली’ आदि व्यवसायिक रूपले सफल मानिएको चलचित्रमा छायांकारको जिम्मेवारी बहन गरिसकेका छन् ।
गत साता राजधानीमा सम्पन्न बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा आयोजित ‘नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड ०७८’ मा उत्कृष्ट छायांकारको अवार्ड हात पार्न सफल निरज कँडेल भविष्यमा पनि यसै क्षेत्रमा निरन्तरता दिने बताउँछन् ।