काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक–एक गोल गरिन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् । खेलको १४ औँ मिनेटमा सबिताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता
दिलाएकी थिइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् । खेलको २३ औँ मिनेटमा सरु लिम्बुको पासमा प्रितीले बक्स बाहिरबाट गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन् ।
त्यसपछि खेलको ८४ औँ मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएपनि नेपालले २–१ को जित निकाल्यो । बंगलादेशले नेपालविरुद्ध गरेको यो दोस्रो गोल हो । प्रिती राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।
एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।