काठमाडौं– नायिका ऋचा शर्मा राणा अहिले सन्तानसुखको महसुस गरिरहेकी छन् । बुधबार पहिलो सन्तानस्वरूप छोरालाई जन्म दिएकी ऋचाले आमा बनेपछि आफूजस्तो धनीमान्छे कोही झैं नलागेको बताएकी छन् । सामाजिक सञ्जालमा ऋचाले सन्तान जन्माएपछिको मनोवाद लेखेकी छन् । उक्त मनोवादमा उनले सन्तान सुखबारे धेरै कुरा उल्लेख गरेकी छन् ।
‘पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दाबाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिल्यै निर्वाह गर्ने मौका पाएको थिइँन जीवनमा’ ऋचा लेख्छिन्, ‘आजसम्म के कति कमाएँ, लेखाजोखा छैन तर, आमा झैं माया गर्ने सासु आमा हुनुुहुन्छ । बुकाझैं आशिष दिने ससुरा बुबा हुनुहुन्छ । मनले मागेभन्दा बढी बुझिदिने जीवनसाथी । आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही झैँ लागिरहेको छैन ।’
ऋचाले सोही मनोवादमा छोराको नाम पनि उल्लेख गरेकी छन् । उनले छोराको नाम आभ्यान विक्रम राणा राखेकी छन् । शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ ।
ऋचाले केही समय अघि आयोजित एक कार्यक्रममा आफूले आफ्नो ९ महिनाको गर्भावस्था निकै रमाइलो भएको बताएकी थिइन् । अरुले गर्भवती भएपछि धेरै नै आराम गर्न‘पर्छ भने पनि आफूलाई भने कामले झनै ऊर्जा दिने गरेको पनि उनले बताइन् । टिभी रियालिटी शो कमेडी च्याम्पियन शोका लागि हरेक बुधबार सुटिङका लागि जाँदा आफूलाई थप ऊर्जावान् र आत्मविश्वासी पाउने गरेको उनले बताएकी थिइन् । डाक्टरले १०–१५ दिन चाहिँ आराम गर्ने बेला भयो भनेपछि उनले कमेडी शोबाट ब्रेक लिएको थिइन् । ऋचाले दुई वर्ष अघि दिपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् ।