काठमाडौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा बनेको सर्ट मुभि ‘गहना’ युट्युबमार्फत सार्वजनिक भएको छ । विभिन्न सामाजिक विषयवस्तु लिएर चलचित्र निर्माण गर्दै आएका सुवेदीको पछिल्लो सर्टमुभि गहनमा श्रीमान र श्रीमतीबीचको घरायसी समस्यालाई मुख्य विषयवस्तु बनाइएको छ । उक्त मुभि ३२ मिनेट लामो रहेको छ ।
‘गहना’ले बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको कथालाई फिल्ममा प्रस्तुत गरेको निर्देशक सुवेदीले बताएका छन् । गहना नभएका कारण माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो फिल्ममा देखाइएको छ ।
गहनाले छपक्कै भएर माइत जानुपर्ने, समाजलाई देखाउनुपर्ने नेपाली समाजमा विद्यमान सोचले गर्दा कतिसम्म समस्या आउँछ भन्ने कुरालाई स्पष्ट रूपमा फिल्मले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको फिल्म तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् । यो सर्ट फिल्ममा नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा छन् । फिल्मको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैँले लेखेका हुन् । विमल ढकालले खिचेको फिल्मको मुख्य सहायक निर्देशक विनय पौडेल छन् ।
ललितसिंह साउदले सम्पादन गरेको गहनामा विनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा क्रियसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौं आसपासमै खिचिएको हो । उक्त मुभिलाई दर्शकले मन पराउने निर्देशक सुवेदीले विश्वास व्यक्त गरेका छन् ।