काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आक्रामक रूपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।
छैटौं मिनेटमा गोलकिपर अन्जना राना मगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मोस्सामत सोप्नाले अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगेकी थिइन् । नवौं मिनेटमा अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले मुश्किलले नियन्त्रणमा लिईन् । त्यसको केहि समयपछि १० औँ मिनेटमा सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल चक्माले डाइभ हान्दै बाहिर पठाएकी थिइन् । खेलको ३० औँ मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो ।
यस्तै खेलको ६७ औँ मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिईन् । नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।