काठमाडौं– रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ । उनले विसं. १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक गीत ‘सवारी मेरो रेलैमा...’ बोलका गीत रेकर्ड गराएकी थिइन् । मेलवादेवी आफैँले लेखेको यो गीतमा उनकै संगीत थियो ।
प्रथम नेपाली गायिका मेलवादेवीले रेकर्ड गराएको यो गीत पुनः रेकर्ड गरिएको छ । यो गीतलाई यसपटक सविन सुवेदी र बेनिशा पौडेलले गाएका छन् । काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुनः रेकर्ड गराएको हो । नेपालको पहिलो आधुनिक गीत सुन्नको लागि आफूले खोज्दा सहज रूपमा नपाएपछि सबैले सहजै रूपमा सुन्न पाउन भनेर पुरानै भावमा रेकर्ड गराएको एरेन्जर राजेन्द्र बजगाईंले बताएका छन् ।
गीतमा संगीत संयोजन राजेन्द्रले नै गरेका छन् । गीतलाई मनोज परियारले मिक्सिङ गरेका छन् । मेलवादेवीप्रति समर्पण गरिएको यो गीतको भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोलाई केशव राज भट्टले तयार गरेका हुन् । जसमा गोविन्द अन्जानको छायांकन र राजेश कुमारको सम्पादन छ । यो गीतलाई गायक सविन र गायिका बेनिशाले न्याय गरेका छन् । गीत पुरानै स्वादमा तयार भएको छ ।