भक्तपुर – भक्तपुर एफसीले सी डिभिजन छनोट प्रतियोगितामा रेफ्रीले गम्भीर लापरवाही गरेको आरोप लगाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भक्तपुर एफसीले गोल भइसकेको अवस्थामा अफसाइड दिएर रेफ्रीले गम्भिर लापरवाही गरेको आरोप लगाएको हो ।
क्लबले सो खेलको निर्णयको गम्भीर छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न एन्फासँग माग गरेको छ । भक्तपुर एफसीले खेलको दौरान प्रोटेष्ट लागेका रेफ्री र क्लबबीच प्रष्ट रूपमा देखिएको फिक्सिङ्गका खेललाई खारेज गर्दै छानबिनको नतिजा नआएसम्म सो खेल रोक्न अपिल समेत गरेको छ । भक्तपुर एफसीका अध्यक्ष राम प्रजापतिले ठुलो लगानी गरेर छनोट प्रतियोगिता खेल्न आएको बताउँदै रेफ्रीको गलत निर्णयका कारण आफुहरू पीडित बनेको बताए ।
उनले अयोग्य रेफ्रीको निर्णयबाट खेलाडीको मनोबल गिर्ने, खेलाडीको भविष्यमा असर गर्ने र क्लबलाई समेत बर्बाद पार्ने उल्लेख गर्दै दोषी उपर कडा कारबाहीको माग गरेका छन् । गत शनिबार दिब्यश्वरी एफसीविरुद्धको खेलमा पाँचौ र आठौं मिनेटमा गोल भइसकेको अवस्थामा रेफ्रीले अफसाइड दिएर आफुलाई हराएको भक्तपुरको आरोप छ ।
क्लबले अफिसियल राजेश राउत र म्याच कमिस्नर अशोक मानन्धरलाई पटक पटक खबरदारी र जानकारी गराउँदा समेत गैरजिम्मेवारपुर्ण अभिब्यक्ति दिएर रेफ्रीको निर्णयलाई ढाकछोप गरेको आरोप लगाएको छ । एन्फाको सचिवालयमा घटनाबारे जानकारी गराउँदा संसारभर यस्ता निर्णय हुने जस्तो गैरजिम्मेवार अभिब्यक्ति आएकोमा क्लबले चित्त दुखाएको छ ।
रेफ्रीको गलत निर्णयका कारण ठुलो लगानी सहित फुटबलमा आएको क्लबको हालत अझ बिकराल हुने भक्तपुर एफसीका अध्यक्ष प्रजापती बताउँछन् । काठमाडौंमा भएको सी डिभिजन छनोटमा खेल मिलेमतो र रेफ्रीको गलत निर्णयको चर्को विरोध भैरहेको छ । तर नियमनकारी निकाय मौन बस्दा ठुलो लगानी गरेर फुटबलमा आएका क्लबमाथि ठुलो अन्याय भएको छ ।