काठमाडौं – कोभिड– १९ र गत असार १ मा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायांकन हुन लागेको चलचित्र ‘उचाइँ’को छायांकन गरिने भएको हो । चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आएका छन् । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।
सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकनपश्चात् टोली बुधबार काठमाडौं फर्किएर सगरमाथा आधार शिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज आचार्यले जानकारी दिए । उनका अनुसार मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ ।
यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन इरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ । यस चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शनपश्चात् मनाङ मात्र नभई सिंगो नेपालकै प्रचारप्रसार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ ।