काठमाडौं– कोरोना भाइरसको महामारीका कारण समयमा हुन नसकेको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ । बुधबारदेखि सुरु भएको परीक्षा आगामी असोज ८ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डल जानकारी दिएको छ । यसअघि बोर्डले दुई पटक २६ जेठदेखि ४ असारसम्म र ३१ साउनदेखि ९ भदौसम्म हुने गरी परीक्षाको तालिका सार्वजनिक गरे पनि महामारीका कारण हुन सकेको थिएन । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै विद्यार्थी, अभिभावक र सरोकारवालाले विरोध जनाएपछि उक्त निर्धारित समयमा परीक्षा सञ्चालन हुन नसकेको हो ।
त्यसपछि सरकारले कक्षा १२ का विद्यार्थीलाई प्राथमिकतामा राखेर कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । त्यस्तै, शिक्षक र विद्यालयका कर्मचारीलाई समेत सरकारले प्राथमिकताको सूचीमा राखेर खोप लगाइदिएकाले यसपटक परीक्षा सञ्चालन गर्न सहज बनेको बताइएको छ । यो वर्ष परीक्षामा सहभागी हुनका लागि पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सुरु गरेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिएका छन् ।
माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णांककै लिने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । सूचना जारी गरिएपछि विद्यार्थीले आफू संक्रमित भएको प्रमाण पेस गरेर परीक्षामा सामेल हुन आवेदन दिएमा उनीहरूका लागि सबै परीक्षा पुनः दिलाउने गरी व्यवस्था गरिने बोर्डले जनाएको छ । कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न केन्द्रलाई निर्देशन दिएको तर परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पछि परीक्षा दिने व्यवस्था मिलाइएको नियन्त्रक शर्माले बताए । परीक्षामा सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड नियन्त्रण गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिइएको छ । पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको बोर्डले जनाएको छ ।