काठमाडौं – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रँला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
ओमानमा सम्पन्न श्रँलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो ।
त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको थियो । लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई) र पपुवा न्युगिनी रहेका छन् । नेपाल आठ खेलमा आठ अङ्क जोड्दै लिगको चौंथो स्थानमा उक्लेको छ ।