काठमाडौं – नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझायो । बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । हङकङले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपाल पराजित भएको थियो । सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो । यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो ।
हङकङसँगको बराबरीसँगै समूह एफको नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रहेको छ । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो स्थानको हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । हङकङले १ खेलमा १ अंक जोडेको छ । शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।