पोखरा – राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको बुधबार सम्पन्न खेलमा शंखमूल फुटसल काठमाडौं र द राइजिङ क्लब विजयी भएका छन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा बुधबार प्रभातफेरी युथ क्लबलाई ७–४ गोल अन्तरले पराजित गर्दै शंखमुलले पहिको जित निकालेको हो । त्यस्तै झरना स्पोर्ट्स क्लब रूपन्देहीलाई ५–३ गोल अन्तरले पराजित गर्दै धरानको राइजिङले अपराजित यात्रा कायम राखेको हो ।
शंखमुलको जितमा जेनिस प्रजापतिले ह्याट्रिक पूरा गरे । यस्तै मणि लामाले दुई गोल गर्दा अनिश श्रेष्ठ र सुसन श्रेष्ठले एक एक गोल गरे । प्रभातफेरीका सृजन पुरी र धिरज जोशीले २-२ गोल गरे ।
खेलमा शंखमुलका मणि लामा प्लेयर अफ दि म्याच चुनिए । यस जितसँगै शंखमुलले ३ खेलमा ५ अंक जोडेको छ । अघिल्लो दुई खेलमा शंखमुलले बराबरी खेलेको थियो । प्रभातफेरिको यो तेस्रो हार हो ।
त्यस्तै द राइजिङको जितमा मिलन राईले दुई गोल गरे । रेवोस मास्के, बिकु तामाङ र मिलन लिम्बुले एक एक गोल गरे ।
झरनाका मोहन बहादुर थापा मगर, ओम प्रकाश थापा र विवेक थापाले एक एक गोल गरे । राइजिङका रेवोस मास्के प्लेयर अफ दि म्याच चुनिए । यस जितसँगै राइजिङले ३ खेलमा ९ अंक जोडेको छ । राइजिङ शीर्ष स्थानमा रहेको छ । यस अघि राइजिङले प्रभातफेरी युथ क्लब र स्काई गोल काठमाडौंलाई हराएको थियो । झरनाको यो लगातार तेस्रो हार हो । झरनाले अंक जोड्न सकेको छैन । लिगमा १० टिमको सहभागिता रहेको छ । फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।