मुम्बई – अश्लील भिडियो सुटिङ तथा प्रशारणको आरोपमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा जमानतमा छुटेका छन् । भारतीय सञ्चारमाध्यम एएनआइका अनुसार राजले पक्राउ परेको दुई महिनापछि मुम्बई अदालतबाट जमानत पाएका हुन् । अश्लील भिडिओ सुटिङ तथा प्रसारण गरेको आरोपमा पक्राउ परेका राजलाई ५० हजार भारू धरौटीमा जमानत दिइएको एएनआइले उल्लेख गरेको छ ।
गत बिहीबार मुम्बई प्रहरीले राजविरूद्ध करिब १४ सय पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो । राजले शनिबार अनुसन्धान सकिएको र अभियोग पत्र बुझाइसकेको भन्दै जमानतका लागि अपील गरेका थिए । एएनआइका अनुसार उनको जमानत अपीलमा उनले आफूमाथि षड्यन्त्र भएको र आफूले अश्लील फिल्म बनाएकोमा कुनै प्रमाण नभएको पनि उल्लेख गरेका छन् ।
राज गत जुलाइ १९ मा पक्राउ परेका थिए । उनले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए । यसअघि पनि उनले धेरैपटक जमानतका लागि अपील गरे पनि अदालतले अस्वीकार गरेको थियो ।
तर प्रहरीको अभियोग पत्रमा राजलाई अश्लील फिल्म बनाउने ‘मुख्य योजनाकार’ भनिएको छ । उनले फिल्म दुनियाँमा संघर्ष गरिरहेका युवतीहरूलाई प्रलोभन दिएर अश्लील भिडिओमा खेलाएको आरोप छ । उनले बनाएका भिडिओहरू विभिन्न एपहरू र वेबसाइटहरूमार्फत् प्रसारण गरिएको आरोप पनि उनीमाथि छ । प्रहरीको अभियोग पत्रमा ४३ जना साक्षी समावेश छन् जसमा उनका कर्मचारी, साथीभाइसँगै उनकी श्रीमती शिल्पा शेट्टीको पनि नाम भएको एएनआइले लेखेको छ ।
शिल्पा र राजको सन् २००९ मा बिहे भएको थियो । उनीहरूका एक छोरा र एक छोरी छन् । राजको अनुसन्धान क्रममा प्रहरीले शिल्पासँग पनि सोधपुछ गरेको थियो । तर यो काममा हालसम्म शिल्पाको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ । ‘सुपर डान्सर–४’ की निर्णायक समेत रहेकी शिल्पाले करिब एक महिना कार्यक्रमबाट विश्राम लिएकी थिइन् । अहिले उनी कार्यक्रममा फर्किसकेकी छन् ।