काठमाडौं(प्रस)– नेपाली कांग्रेसका तर्फबाट नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तोष व्यक्त गरेको छ । मन्त्री नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीमा रहे पनि त्यसबारे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्ने पौडेल पक्षको भनाइ छ ।
प्रधानमन्त्री देउवाले बुधबार खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए । यसअगाडि देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्ति गर्दा पार्टीमा ठूलो विवाद भएपछि अब उप्रान्त मन्त्री नियुक्ति गर्दा पार्टीमा छलफल गर्ने वाचा गरेको प्रधानमन्त्री देउवाले फेरि मनलाग्दी गरेको सो समूहको भनाइ छ ।
उनीहरू चारै जना देउवानिकट हुन् । मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीमा छलफल नगरेको भन्दै पौडेल पक्ष सभापति देउवासँग असन्तुष्ट छ । बुधबार यसबारे महामन्त्री शशांक कोइराला निवासमा पनि छलफल भएको थियो । यता, कांग्रेसमा ६४ जिल्लामा वडा अधिवेशन सकिएको छ भने १३ जिल्लामा हुन बाँकी छ । तर कहिले यी जिल्लामा वडा अधिवेशन हुन्छ टुंगो छैन । बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशनपछि मात्रै एकैदिन गाउँ/नगरको अधिवेशन गर्नुपर्ने पक्षमा पौडेल पक्ष छ । ९ असोजमा गाउँ/नगर अधिवेशन तोकिएको छ ।