काठमाडौं – प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशले राष्ट्रियस्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुआत गरेको छ । प्रशिक्षणका सबै कार्यक्रमहरू दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्धान्तिक कक्षाहरू सञ्चालन हुनेछन् ।
परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीको अध्यक्षतामा संचालन भएको उद्घाटन समारोहमा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए । बागमती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी रहेका छन् । एथलेटिक्स संघका प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा बरिस्ठ प्रशिक्षकहरू कान्ति महतो र धनिराम चौधरीले सहभागीहरूलाइ प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एण्टि डोपिङ को समेत कक्षा सञ्चालन गरिनेछ ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका नेपाली एथलेटिक्स इतिहासका कीर्तिमानि बैकुण्ठ मानन्धरले बागमती प्रदेश खेलकुद बिकास परिषद्को खुलेर प्रंशसा गरे । राष्ट्रिय खेलकुद परिषद् र अन्य प्रदेश पनि सुस्ताएको बेला बागमती प्रदेशले गरेका कार्यक्रम र सक्रियताले खेलकुदमा नयाँ आशाको किरण सिर्जना गरेको उनले बताए । कार्यक्रमका अध्यक्ष सुर्यलाल भण्डारीले प्रशिक्षकको समयानुकूल क्षमता बिकास गर्न र सबै जिल्ला खेलकुदको समानुपातिक बिकास गर्नको लागि उक्त कार्यक्रम संचालन गरेको बताए ।
उनले यस्तो कार्यक्रमले ग्रासरुट लेभलमा खेलाडी उत्पादन गर्न र प्रशिक्षणलाई गाउँ–गाउँमा सञ्चालन गर्न मद्दत पुग्ने बताए । बागमती प्रदेशले यसै महिनामा एथलेटिक्ससहित अन्य तीन खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ ।