काठमाडौं– ठूलो पर्दासम्मको बाटो तय गर्न सुन्दरी प्रतियोगिता एउटा राम्रो प्लेटफर्म बन्ने गरेको छ । मिस नेपाल लगायतका प्रतियोगितामा मुख्य उपाधि जितेका धेरै सुन्दरीहरू नेपाली फिल्ममा नायिका बनेका छन् । सृष्टि श्रेष्ठ, मलिना जोशी, निकिता चाण्डक, झरना बज्राचार्य लगायत यसका उदाहरण हुन् । तर, सुन्दरी प्रतियोगिताबाट आएका एकाधले मात्र फिल्ममा सफलता पाएका छन् ।
०७५ सालमा फिल्म ‘रणवीर’ बाट नायिकाको रूपमा डेब्यू गरेकी सुवेक्षा खड्का पनि सुन्दरी प्रतियोगीताबाटै आएकी हुन् । उनी मिस नेपाल इन्टरनेसनल २०१२ र वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता हुन् । फिल्म रिलिजपूर्व उनलाई धेरैले सम्भावना बोकेको अभिनेत्रीको रूपमा हेरेका थिए । निर्माण टिमले पनि फिल्मको प्रचार–प्रसारमा उनलाई नै प्राथमितामा राखेको थियो ।
तर, फिल्म रिलिजपछि उनीभन्दा कम ‘स्क्रिन स्पेश’ पाएकी अभिनेत्री सुपुष्पा भट्ट चम्किइन् । दर्शक र समीक्षकले सुवेक्षाभन्दा सुपुष्पाको अभिनयलाई बढी रुचाए । यो फिल्मपछि सुपुष्पालाई फिल्म र म्युजिक भिडियोमा काम गर्न भ्याइनभ्याई हुन थाल्यो तर सुवेक्षालाई भने दोस्रो फिल्म पाउनै तीन वर्ष लागेको छ । विगत दुई हप्तादेखि उनी फिल्म ‘प्रेमा’ को छायांकनमा व्यस्त छिन् ।
फिल्मलाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले नै निर्देशन गरिरहेका छन् । ‘प्रेमा’ मा आबद्ध भएपछि सुवेक्षाले हरेक फिल्म झैँ यो फिल्मले पनि आफ्नो मुटुमा विशेष स्थान बनाएको उल्लेख गरेकी थिइन् । निर्देशक भण्डारीबाट आफूले धेरै सिक्न पाएको बताउँदै उनले यो प्रोजेक्टमा आफूलाई विश्वास गरेकोमा धन्यवाद व्यक्त गरेकी छन् । फिल्ममा उनी टाइटल क्यारेक्टरमा छिन् ।