काठमाडौं– संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न यही असोज ११ गते काठमाडौं बृहत विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त सभामा सहभागी हुन पनि मोर्चाले आमनागरिकलाई आह्वान गरेको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर मोर्चाले उक्त विरोधसभामा हुनका लागि आह्वान गरेको हो । ०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन् गरिरहेको र संविधान विदेशीको इशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरी संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको सुनाए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको स्मरण गराए । तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताका लागि घाँडो भएको स्पष्ट पारे ।
उनले भने, संविधानलाई उत्कृष्ट संविधान घोषित गरियो । तर, के यो नेपाली जनताका लागि बनेको हो त ? जनताका लागि के छ र संविधानमा यसलाई कहिले कार्यान्वयन गर्ने ?’ कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले विश्वमा हिन्दू धर्मको एक मात्र देश नेपाललाई इसाइकरण गर्न खोजिएको भन्दै सरकार पक्षमाथि आरोप लगाए । स्वीस बैंकमा नेपालीको अर्बौँको भ्रष्टाचारको पर्दाफास भइसकेको उनले सुनाए । नेपाललाई संवैधानिक राजसंस्था बनाउनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे ।
त्यसैगरी, कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका संयोजक हरिबोल भट्टले मुलुक दुरावस्थामा पुग्नुमा व्याप्त भ्रष्टाचारको हात रहेको बताए । राजा र प्रजा दुवै एकात्मक प्रणालीबाट देशको निर्माण पृथ्वीनारायण शाहले गरेको सुनाए । तपोभूमि नेपालमा ०७ सालमा प्रजातन्त्र आएको थियो, त्यसलाई राजाले समेत साथ दिएका उनले सुनाए । राजाले सम्पूर्ण देशबासीको आकांक्षालाई सम्मान गरेको सुनाए ।
त्यसैगरी कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले मुलुकको अहिलेको अवस्था खराब रहेको सुनाए । उनले हाम्रो देशको धर्म, संस्कृति विदेशीले मासिसकेको बताए । उनले ‘आफ्नो पहिचालाई जोगाउन किन सक्दैनौँ ?’ भनेर प्रश्न गरे । उनले नेपालका नेताहरूले आफ्नो धर्म र पहिचानलाई विदेशीलाई बेचिसकेका दुःखेसो पाखे ।