काठमाडौं– रोहित र दीपक–दीपाको ‘कालो कोट’ बन्ने भएकोे छ । ‘छ माया छपक्कै’ मा पहिलोपटक दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ टिमसँग सहकार्य गरेका निर्माता रोहित अधिकारी फेरि यही टिमसँँग सहकार्य गरेर नयाँ फिल्म बनाउने तयारीमा रहेका हुन् ।
कथासँग मिल्ने गरी फिल्मको नाम ‘कालो कोट’ जुराए पनि ‘छक्का पञ्जा’ टिमलाई फापेको ‘छ’ नामबाटै फिल्मको नाम राख्न खोजिएको बताइएको छ । तर, यसबारे गृहकार्य गर्न भने बाँकी रहेको बुझिएको छ ।
फिल्मलाई कसले निर्देशन गर्ने भन्ने टुंगो नभइसके पनि ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवारको पल्ला भारी हुने बताइन्छ । धेरै पहिलादेखि दीपक–दीपाको समूहसँग सहकार्य गरेर सिमोसले फिल्म बनाउन लागेको चर्चा चलेको थियो । उनी अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ को पनि निर्देशन गर्ने तयारीमा छन् । ‘कालो कोट’ वकिलहरूको कथामा निर्माण हुने स्रोतले बताएको छ ।
फिल्ममा ‘छक्का पञ्जा’ समूहका कलाकारहरूको नै अभिनय रहनेछ तर यो चलचित्रमा जितु नेपाल भने छुट्ने बताइएको छ । गत वर्ष ‘महानायक’ विवादका कारण ‘मुन्द्रको कमेडी क्लब’ को अध्यक्षबाट दीपश्रीलाई हटाइएपछि जितुसँँग यो टिमको सम्बन्ध बिग्रिएको बताइन्छ । स्क्रिनप्ले ‘लक’ भएपछि फिल्ममा भिलेनको भूमिकामा सौगात मल्ललाई लिने सोचमा निर्माण टिम छ । त्यस्तै, फिल्ममा तीन जना अभिनेत्रीहरू रहने बताएको छ ।