काठमाडौं– ए–लेभलका विद्यार्थीहरूले ब्रिटिस काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूले कोरोना भाइरसको त्रास र नजिकिँदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रूपमा परीक्षा लिने हो भने ब्रिटिस काउन्सिल वा सरकारले विद्यार्थीहरूको जिम्मेवारी लिनुपर्ने बताए ।
उनले भने, ‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिस काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ कोरोना भाइरसको डर र नजिकिँदै गरेको चाडबाडको कारण पनि भौतिक रूपमा परीक्षा दिन सहज नहुने उनको भनाइ थियो ।
उनले २ महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राखेका छन् । सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरे पनि अहिले सम्म सबै साथीहरूले प्रवेश पत्र नै नपाएको बताए ।
उनले भने, ‘ब्रिटिस काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’ ब्रिटिस काउन्सिलको गैरजिम्मेवारीपनले विद्यार्थीहरू थप मानसिक तनावमा परेकोसमेत बताए ।
कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिस काउन्सिलले चासो नदिएको आरोप लगाइन् । उनले भनिन्, ‘ब्रिटिस काउन्सिलले आफूहरूलाई कन्सिडर गर्छौँ तर पूरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो ।’ २ महिना लामो परीक्षा दिन विद्यार्थीहरूलाई धेरै नै जोखिम भएको सुनाइन् । उनले सरकारले ब्रिटिस काउन्सिललाई सम्झाउनसमेत आग्रह गरिन् ।
अर्का विद्यार्थी दीपेश बास्कोटाले कार्यक्रममा विद्यार्थीहरूलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गरे । उनले भने, ‘हाम्रा धेरै साथीहरू १८ वर्ष नपुेको कारणले कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन् ।’ यदि परीक्षा यही समयमा लिनै पर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने हुँदा ब्रिटिस काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उनको माग छ ।