काठमाडौं – साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो । नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो । कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको थियो । साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ ।