काठमाडौं– नेपाली चलचित्र क्षेत्रका नायिकाहरूले ‘बेबी बम्प’सहितको तस्विर सार्वजनिक गर्ने क्रम बढेको छ । पहिले अधिकांश नायिकाहरूले गुपचुप सन्तान लाभ गर्ने गरेकोमा पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवति भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका हुन् । केहीसमय पहिले अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा शेयर गरेको ‘बेबी बम्प’सहितको तस्विरको व्यापक चर्चा भएको थियो ।
यस्तै, अभिनेत्री रञ्जना शर्माले पनि सामाजिक सञ्जालमार्फत् ‘बेबी बम्प’सहितको तस्विर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । गत वर्षको २५ चैतमा अमेरिकामै प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधबार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । कोरोना महामारीका कारण रञ्जना र निकेशले अनलाइन माध्यमबाटै कानुनी विवाह गरेका थिए ।
२००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध बिग्रियो । त्यसपछि अलग–अलग बस्दै आएका उनीहरूको तीन वर्ष अगाडि मात्र सम्बन्ध विच्छेद गरेका थिए । डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी थिइन् ।
‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, विरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । फिल्ममा राम्रो माग हुँदा हुँदै एक दशक अगाडि अमेरिका हानिएकी उनले त्यसपछि अभिनयलाई निरन्तरता दिएकी छैनन् । उनी करिब ४ वर्ष अगाडि परिवारिक भेटघाटका लागि नेपाल आएकी थिइन् । त्यसयता उनी नेपालसमेत आएकी छैनन् । अन्य कलाकारले अमेरिकालगायतका मुलुकमा रहेर पनि अभिनयलाई निरन्तरता दिइरहेको समयमा उनले पनि चलचित्र क्षेत्रमा पुनः कमव्याक गर्नसक्ने अपेक्षा गरिएको छ ।