काठमाडौं(प्रस)– प्रभाव पब्लिकेसन प्रा.लि.द्वारा सञ्चालित प्रभाव राष्ट्रिय दैनिकको प्रबन्ध निर्देशकमा कृष्ण कार्की नियुक्त भएका छन् । प्रा.लि.ले बिहीबार कार्कीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि कार्की सोही दैनिकको बजार व्यवस्थापक पदमा कार्यरत थिए । करिब दुई दशकदेखि सञ्चार उद्योग व्यवस्थापन क्षेत्रमा संलग्न कार्कीले तत्कालीन आजको समाचारपत्र दैनिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए ।
०५२ सालदेखि ०६६ सालसम्म समाचारपत्र दैनिकमा, ०६७ देखि ०७१ सालसम्म सौर्य दैनिकमा बजार व्यवस्थापक पदमा कार्यरत थिए । तत्पश्चात अर्थात् ०७१ देखि प्रभाव दैनिकको बजार व्यवस्थापक पदबाट सेवामा प्रवेश गरेका कार्कीलाई बिहीबारको व्यवस्थापन समितिको निर्णयले प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो । कार्कीले बिहीबारबाट नै आफ्नो कार्यभारसमेत सम्हाल्न थालेका छन् । कार्की शिक्षा शास्त्रबाट स्नातक हुन् ।