काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूसँग माग गरेका छन् । गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताहरूसँग माग गर्छु ।’
उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गरे । उपसभापति निधिले मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू सारै चिन्ता र दुःखको विषय भएको बताए । उनले नेपाली कांग्रेसको लागि र गठबन्धन दलहरूको लागि पनि चिन्ताको विषय भएको बताए । उनले भने, ‘यो नेपाली कांग्रेस र सरकारमा सहभागी दलहरूको लागि मात्रै होइन पूरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नू ।
त्यस कारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरूसँग म के अनुरोध गर्न चाहन्छु भने अव धेरै ढिला भयो । अब धेरै पर्खन सकिँदैन ।’ उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे ।