काठमाडौं – नेपालले आज (सोमबार) १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा श्रीलंकासँग खेल्दैछ । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपाल श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै साफमा दबदबा कायम गर्ने ध्येयमा लागेको । श्रीलंकाविरुद्धको खेल अघि नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।
माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेल अघि कप्तान किरणले तीन अंकको लागि खेल्ने बताएका हुन् । नेपालले दोस्रो खेलको रूपमा भोलि सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
’श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौ । माल्दिभ्सविरुद्धको खेल अघि पनि भनेको थिए हामी गोर्खाली हौँ । हामीले ९० मिनेटसम्मै जितका लागि फाईट गर्नेछौ,’ कप्तान किरणले प्रि म्याच कन्फरेन्समा भने । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कप्तान किरणले श्रीलंकाविरुद्ध तीन अंक पाउनेमा विश्वस्त रहेको बताए । ‘मलाई आफैमाथि तथा टिममाथि विश्वास छ कि भोली हामीले अंक ल्याउनेछौ र जित्ने छौ । भोलीको खेल महत्वपूर्ण खेल हो । र, प्रतियोगिताको लागि अर्को खुड्किलो हुनेछ,’ उनले थपे । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।