काठमाडौं– कोरोना भाइरसको महामारीका कारण निर्माण सम्पन्न भइसकेका नेपाली फिल्महरूले ‘रिलिज डेट’ सार्वजनिक गर्न हच्किरहेका छन् । दसैँको अवसरमा रिलिज भएको ‘डाँडाको वर पीपल’ले सहित बलिवुड र हलिवुड फिल्मले समेत दर्शकलाई हलसम्म तान्न नसक्दा निर्माता, निर्देशकहरू फिल्म प्रदर्शन गर्न हच्किएका हुन् । गत ८ बैशाखदेखि बन्द भएको फिल्म हलहरू २१ असोजदेखि खुले पनि दर्शक हलसम्म नआउँदा फिल्मको व्यापार अनिश्चित बनिरहेको छ । चलचित्र विकास बोर्डले निर्माता निर्देशकलाई प्रोत्साहित गर्न फिल्म प्रदर्शन गरे रु.७ लाख नगद दिने घोषणा गरेको छ । तर, यसले पनि सकारात्मक नतिजा दिन सकिरहेको छैन ।
यस्तैमा फिल्म ‘चुरिफुरी’ ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म आगामी ९ पुसदेखि प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्देशक ऋषिराज आचार्यले फिल्मको ‘रिलिज डेट’ घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक आचार्यले कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन औषधिको काम फिल्म ‘चुरिफुरी’ले गर्ने दाबी गरे । साथै निर्देशक आचार्यले कोरोनाले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प नरहेको समेत बताए । आचार्यले चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि फिल्म प्रदर्शन सम्बन्धि आकर्षक राहतको प्याकेज ल्याउनुपर्ने जसले गर्दा करोडौंको लगानी गरेका फिल्म मेकरहरू पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण सिर्जना हुने बताए ।
सोसल कमेडी जनरामा निर्माण तयार भएको ‘चुरिफुरी’मा रबिन्द्र झा, सुबोध गौतम, राजिबजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको छ । दीपक शर्माको संगीत तथा राहुल राईको छायांकन रहेको फिल्मलाई नवीन निरौलाले सम्पादन गरेका छन् । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मलाई डि.सि.एन.ले वितरण गर्नेछ ।