काठमाडौं– बहुपति प्रथाको विषयमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले युरोपको स्लोभाकियाको पोपरोडमा आयोजित २९औँ इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जित्न सफल भएको छ । अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति गरेका कारण अवार्ड प्रदान गरिएको बताएका थिए । महोत्सवमा १७ वटा देशका ४४ फिल्म प्रतिष्पर्धामा थिए । ‘विभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैँमा गर्वको कुरा हो ।
अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामु अवार्ड थाप्न पाउँदा निकै खुसी लागेको छ, यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ’ निर्देशक गणेश पाण्डेले भनेका छन् । गत वर्ष रसियामा आयोजित १९औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल ‘सहायक श्रीमान्’ को यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘सहायक श्रीमान्’ २३ अक्टोबरमा अमेरिकाको सियाटलस्थित तस्वीर साउथ एशियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदैछ ।
३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका छन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखक तथा निर्देशन पाण्डे नै हुन् ।