युएई– नामिबियाले युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । आबुधाबीमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नामिबियाले पहिलो जित निकालेको हो ।
नामिबियाको यो टी–ट्वान्टी विश्वकपमा ऐतिहासिक पहिलो जित समेत हो ।नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन जोड्दा स्टेफेन बार्डले १९ रन बनाए ।
जान ग्रीनले १५ तथा जेजे स्मिथले अविजित १४ रन बनाए ।नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन,टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेद्ल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
कोलिनले ३५ रन जोड्दा स्कट एड्वार्डले अविजित २१ रन बनाए ।नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए । जितसँगै नामिबियाले सुपर–१२ मा पुग्ने सम्भावना कायम राखेको छ ।पहिलो चरणको समूह ‘ए’ मा रहेको नामिबियाले २ खेलमा २ अंक जोडेको छ ।नेदरल्यान्ड्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो ।नेदरल्यान्ड्स आयरल्यान्डसँग ७ विकेटले नै पराजित भएको थियो ।